Logo

अन्य कुरा यथावत् रहेमा नहकुल सुवेदीपछि प्रधानन्यायाधीशको लाइनमा बसे ढुङ्गाना



काठमाडौं,५ मंसिर । लामो समयको रस्साकस्सीपछि सर्वोच्च अदालतमा ६ जना न्यायाधीशहरु नियुक्त भएका छन् । निरन्तरको न्याय परिषद्को बैठकले मंगलबार उच्च अदालतका ४ जना र कानून व्यवसायीबाट २ जना गरेर ६ जनाको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले मंगलबार उच्च अदालतका न्यायाधीशहरु सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान तथा कानून व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको हो । कानून व्यवसायीमध्येबाट सिफारिस भएका पोखरेल नेपाली कांग्रेस र ढकाल नेकपा एमालेको कोटाबाट न्यायाधीश सिफारिस भएका हुन् ।

हाल सर्वोच्चमा ७ जनाको पद रिक्त रहेको छ । तर, सत्तारुढ दल माओवादी केन्द्रमा न्यायाधीश बनाउने पात्रको बारेमा सहमति नजुटेपछि एउटा कोटा खाली राखेको स्रोतले बताएका छ । माओवादी केन्द्रमा महान्यायाधीवक्तासमेत रहेका दिनमणि पोखरेल र डा डिएन पराजुली न्यायाधीश बन्नका लागि आकांक्षी छन् ।

उता आज न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये सर्वोच्च अदालतमा नहकुद सुवेदीपछि प्रधानन्यायाधीश बन्नेगरी टेकप्रसाद ढुंगानाको नाम सिफारिस भएको छ । न्यायाधीश सिफारिस भएका ढुंगाना २०९३ सालको असारपछि करिव ६ महिना प्रधानन्यायाधीश बन्न सक्नेछन् ।

हालको रोलक्रम अनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका नहकुल सुवेदी २०९३ असार ७ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि २०९३ पुष ५ गतेसम्म टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश बन्न सक्नेछन् ।

सर्वोच्च अदालतमा अवकाशको उमेर हद ६५ वर्ष रहेको छ । ६५ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने भएकाले सुवेदी २०९३ असार ७ र ढुङ्गाना २०९३ पुष ५ मा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

न्याय सेवाबाट करिअर थालेका ढुंगाना सहसचिव हुने बेला कानून समूहमा गएका थिए । उनी त्यसपछि संसद सचिवालयमा कार्यरत रहे ।

सचिव बढुवापछि राष्ट्रपति कार्यालय र कानून मन्त्रालयमा काम गरेका ढुंगानालाई २०७३ मा उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो ।

सर्वोच्चको अहिलेको रोलक्रमअनुसार विश्वम्भर श्रेष्ठपछि प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश हुनेछन् । राउतपछि क्रमशः सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी प्रधानन्यायाधीशको रोलक्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्