Logo

दुर्गा प्रसाईंका कार्यकर्ता लखेटेको आरोप लागेपछि बोल्यो युवा संघ



काठमाडौं,६ मंसिर । राष्ट्रिय युवा संघ नेपालले मंगलबार राती काठमाडौंको एक पार्टी प्यालेसमा भएको घटनाबारे मुख खोलेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले भोलि काठमाडौंमा आयोजना गर्ने प्रर्दशनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यराति होटलबाट लखेटेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त मिडियो अहिले भाईरल भइरहेको छ । सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियोमा देख्न सकिन्छ ।

दुर्गा प्रसाईंका समर्थकहरुले महिलाहरुलाई रातिको समयमा लखेट्ने काम युवा संघले गरेको आरोप लगाएका छन् ।

युवा संघले प्रसाईं समूहको आरोपपछि आफ्नो भनाई सार्वजनिक गर्दै आफ्ना कार्यकर्ताले उक्त कार्य नगरेको दाबी गरेको छ ।

युवा संघले भिडियो सार्वजनिक बारे प्रहरीको समेत सहयोग मागेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै युवा संघ नेपालका अध्यक्ष क्षतिज थेवेले घटनाबारे आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘राष्ट्रिय युवा सङ्घ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको सङ्गठन हो’, युवा संघले भनेको छ, ‘नेपाली जनताको लामो बलिदानी त्याग र सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरूलाई सङ्गठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा सङ्गठनलाई बदनाम गर्न सङ्गठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो ।’थेवेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्