Logo

पूर्वराजा ज्ञानेन्द्रलाई जय साहको प्रश्न : तपाईं राजा हुँदा भ्रष्टाचारको मुद्दामा कति जनालाई जेल हाल्नुभयो ?



काठमाडौं, ६ मंसिर । नेपाललाई शतप्रतिशत भ्रष्टाचारमुक्त र क्यासलेस इकोनोमी बनाउने अभियानमा सक्रिय जय साहले राजसंस्था फर्किँदैमा देशको सबै समस्याको समाधान नहुने जिकिर गरेका छन् । उनले एक जना राजा ल्याएर देशको व्यवस्था परिवर्तन गर्न सम्भव नभएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत साहले लेखेका छन्–‘एक हजार राजा फालेर एउटा राजाले साँच्चिकै व्यवस्था परिवर्तन गर्न सक्षम छ त ? यो हावा कुरा हो । राजा आएपछि उहाँ एक्लैले देश चलाउने हो कि उहाँलाई पनि एक हजार मान्छेको टीम चाहिन्छ ? वीरेन्द्र र ज्ञानेन्द्र राजा हुँदा वहाँहरुले भ्रष्टाचारको केसमा कति जनालाई जेल र सजाय दिनुभयो ? के पहिला हाम्रो देशमा भ्रष्टाचार थिएन ? पहिला भ्रष्टाचार लाखमा हुन्थ्यो जब एक आना जमीन १० हजारमा पाईन्थ्यो, अब भ्रष्टाचार करोड र अर्बमा हुन्छ तर त्यही जमीन १ करोडमा पाईन्छ ।’

साहले पहिला नेपालका मिडिया शतप्रतिशत राजाको अधीनमा रहेको र भ्रष्टाचाका समाचार नआएको दाबी गरेका छन् । उनले भनेका छन्–‘अब सबै समाचार बाहिर आउँछन् । भ्रष्टाचार गरेर नेताहरुले देशलाई १००% माडवारीको अधीनमा जानबाट जोगाएका छन्। अहिले २५% ठूला–ठूला व्यापारीहरु माडवारी नभएर नेपाली छन् र ती सबै व्यापारमा नेपाली नेताहरुको लगानी छ। नत्र भए अहिले १००% नेपालको अर्थतन्त्र माडवारीहरुको हातमा हुन्थ्यो। वर्षमा एक/दुई चोटी दशैं तथा तिहारजस्ता ठूला चाडमा मात्र भात खाना पाउने अवस्थाबाट करोडौं नेपालीलाई माथि उकास्न “भ्रष्टाचार इकोनोमिक्स’’ को पनि ठूलो योगदान छ।’

साहले देशको लागि भ्रष्टाचार भन्दापनि बढि अहिले सबै नेपाली विदेशिनु ठूलो एवम् विकराल समस्या भएको दाबी गरेका छन् । उनले यो समस्या सामधान गर्नको लागि नेपाललाई शतप्रतिशत क्यासलेस बनाउनुको विकल्प नभएको जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्