Logo

दलहरु र दुर्गा प्रसाईँबीचको राजनीतिक लडाइँमा यस्तो देखियो काठमाडौं (तस्विरहरु)



काठमाडौं, मंसिर ७ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै शक्ति प्रर्दशन गर्दै छन् ।

युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन् ।

युवा संघ र प्रसाईंको समूहको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा विरोध र्‍याली र प्रदर्शन गर्ने तयारी गरेको छ । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार आयोजना गर्ने प्रदर्शनमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ ।

अहिले उपत्यकाको जनजीवन सामान्य रहेपनि सवारी साधन भने अन्य दिनको तुलनामा कमै मात्र सडकमा निस्किएका छन् । विहान ८ बजेसम्म कहिँ कतै सवारी अवरोध भएको छैन । सबैतिर पसलहरु खुल्न थालेका छन् । सर्वसाधारणहरु सधै जस्तो आज पनि निर्वाध रुपमा आफ्नो दैनिकीमा लागेका छन् ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्