काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले एमाले र दुर्गा प्रसाईंको आन्दोलनलाई राजनीतिक–फण्डाको संज्ञा दिएका छन् । उनले गलत संविधान बनाएकै कारण मुलुक र जनताले दुःख पाइरहेको भन्दै संविधानसभाबाट संविधान बनाउनेहरुले माफी माग्नुपर्ने बेला आएको औंल्याएका छन् ।
हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सोही क्रममा पत्रकार धमलाले ‘अब तपाईं पनि दुर्गा प्रसाईंको अभियानमा लाग्नुभयो ?’ भनेर सोधेको प्रश्नमा साहले आक्रोशित हुँदै जवाफ फर्काए–‘दुर्गा प्रसाईंको के बेकारको कुरा गर्नुहुन्छ ? यो जतिपनि नाटकहरु भैरहेका छन्, यी सबै जनतालाई भ्रमित गर्ने कुरा हुन् । कुनैबेला संविधान बनिराख्दा यस्तै नाटक थियो । यिनै केपी ओलीजस्ताहरुले मधेशी, पहाडी, इण्डियन के के नाटक गरेर जनतालाई गुमराहमा राखे । अहिलेपनि कहिले धार्मिक कुरा ल्याएको छ, कहिले यस्तै दुर्गा प्रसाईंजस्तो ल्याएर फण्डा ल्याएर मान्छेलाई राजनीतिक भ्रमित गर्ने अनि देशलाई फेरि अन्यौलग्रस्त बनाएर धमिलो पानीमा माछा मार्ने ? यी ओलीहरुको पूरानै चाल हो । जनता यस्ताखाले चालमा फस्नुहुँदैन् । अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष साहले अबको निकास भनेको अन्तरिम सरकार बनाउने र जनताको सहभागितामा नयाँ संविधान बनाउने रहेको सुनाए ।