Logo

मेयर हर्कराज राईको प्रश्न : दुर्गा प्रसाईंले कसरी त्यति पैसा कमाएछ ?



काठमाडौं, ७ मंसिर । धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय मेयर राईले विभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । पछिल्लो समय उनले काठमाडौंमा भैरहेका प्रसाईं र एमालेनिकट युवा–विद्यार्थीहरुको आन्दोलनलक्षित स्टाटस लेखिरहेका छन् । यस्तैमा उनले प्रसाईंले कसरी यत्तिको पैसा कमाएको रहेछ भनेर प्रश्न सोधेका छन् ।

उनले लेखेका छन्–‘दुर्गा प्रसाईंले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ! यथार्थ के हो ? आज अरबौंको मालिक बनिरहँदा सम्पत्तिको स्रोत खुलाइदिए राम्रो हुन्थ्यो !’

यस्तै, उनले प्रसाईं र एमालेको प्रदर्शनलाई लिएर आलोचना पनि गरेका छन् । उनले काठमाडौंमा आज हुने खर्च, जनबल र उर्जा सबै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित र पूनःनिर्माणमा खर्चिएको भए कित राम्रो हुने थियो भनेर पनि सुझाव दिएका छन् । त्यसबारे उनले लेखेका छन्–‘आज काठमाण्डौँमा खर्च हुने पैसा, जनबल र उर्जा सबै जाजरकोटमा उद्दार र पुनः निर्माणमा खर्च हुन सके कति राम्रो हुन्थ्यो भन्दै म चाहिँ हिँडें विरुवामा पानी लाउन ! जय बुद्धि !’

उनले पार्टी, जाति, धर्म सबैभन्दा माथि देश भनेका छन् । उनले आफूले देश सम्झिएर कठिन कामहरु प्नि सहज तरिकाले गरिरहेको सुनाएका छन् । उनले आफूले अनेक पीडा, कष्ट र अपमान सहेरपनि श्रमदान गरिरहने उल्लेख गरेका छन् । उनी भन्छन्–‘पार्टी होइन देश ! जाति होइन देश ! धर्म होइन देश ! मेरो देश… हामी सबैको देश ! हो म त्यही देश सम्झेर कठीन कामहरु पनि सहज तरिकाले गरिरहन्छु ! अनेक पिडा, कष्ट र अपमान सहेर पनि श्रमदान गरिरहन्छु !’

मेयर राईले व्यवस्थाको भने कडा रुपमा बचाउ गरेका छन् । उनले अहिले गणतन्त्र फालियो भने आफ्नो मेयरको पद पनि खारेज हुने होला र आफू सिधै राजा बन्ने होला की प्रधानमन्त्री पो ? भन्दै मजाकसमेत गरेका छन् ।

यस्तो छ उनको मजाकमिश्रित स्टाटस–‘गणतन्त्र फाल्ने आन्दोलन हुँदैछ भन्छ ! गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ??? हाँस नउठेको बेला पनि कति हाँस्नु लाको, पापीहरु ।’



प्रतिक्रिया दिनुहोस्