कञ्चनपुर, मंसिर ९ । कञ्चनपुरको महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आज महेन्द्रनगरमा निकालेको विरोध प्रर्दशनका क्रममा सहिदको पन्तको सालिक तोडफोड गरिएको हो । राप्रपाका स्थानीय केही नेताहरुले सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका छन्।
राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै राप्रपाले आज कञ्चनपुर बन्दको घोषणा गरेको छ ।