Logo

रसियाली जारशाहको टाउको काटिएको प्रसंग जोड्दै मन्त्री किरातीले भने, ‘ज्ञानेन्द्रमाथि पनि समीक्षा गर्नुपर्ने दिन आउनसक्छ’



काठमाडौं, ९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताएका छन् । उनले इतिहासको पानामा इंकित भइसकेको राजा अब कहिल्यै पनि नफर्किने दाबी गरे ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह गलत मान्छेको काँघमा चढेको बताए । उनले राजा ज्ञानेन्द्रले जनताको संघर्ष र बलिदानीबाट आएको व्यवस्थामाथि हात लम्काउने र आँखा चम्काउने काम गरे समीक्षा गर्नुपर्ने दिन आउनेसमेत बताए ।

रसियाली जारशाहको प्रसंग जोड्दै मन्त्री किरातीले भने, ‘कहिलेकाही काठमाडौंमा अचानक राउटेको राजा चाहीँ आउलान्् । तर, इतिहासको पानामा अंकित भइसकेको राजा चाहीँ सम्भव छैन नेपालमा । म पूर्वराजालाई के भन्न चाहन्छु भने– तपाईँ गलत मान्छेको काँधमा चढ्नुहुँदैछ । यदि तपाईँ यसरीनै मान्छे उत्तेजित बनाउँदै लानुहुन्छ र चढ्नुहुन्छ भने रसियाको इतिहास सम्झँदा हुन्छ । सुरु–सुरुमा जारशाहलाई रसियाली जनताले त्यो स्तरको सजाय दिएको होईन । जब पछि उसले षड्यन्त्र गर्न थाल्यो, जारशाहको टाउको काटियो । फ्रान्सेली राज्यक्रान्ति पछि जब त्यहाँका राजाले चलखेल गर्न थाले । हात लम्काउने, आँखा चम्काउने भन्थेनन् मदन भण्डारीले । त्यसै गर्न खोज्यो भने गलत हुन्छ । जनताले सम्मानका साथ राखेको पूर्वराजामाथि समीक्षा गर्न पर्ने दिन आउनसक्छ । त्यसकारण गलत बाटोमा नलाग्दा राम्रो हुन्छ पूर्वराजा ।’

गणतन्त्रको ग उच्चारण गर्दा राजतन्त्रम गोली ठोकिएको उनले बताए । चार सहिदलाई गणतन्त्रको ग उच्चारण गर्दा गोली खानुपरेको उनले बताए । ७० वर्षको संघर्षपछि नेपाली जनताले ल्याएको व्यवस्थामाथि धावा बोल्ने छुट कसैलाई नरहेको उनले बताए । लोकतन्त्रमा सडकमा लठ्ठी घुमाउँदै हिँड्न पाइने भएपनि अर्काको नाकमाथि हान्न नपाइने उनले बताए ।

लोकतन्त्रको जरा समाजको तल्लो तहसम्म पुर्याउन नसक्नु शासकहरुको त्रृटि भएको उनले स्वीकार गरे । विगतबाट शिक्षा लिएर लोकतान्त्रिक गणतन्त्रलाई अक्षरस पालना गर्दै यसलाई बलियो बनाउन पर्ने उनले बताए । दुर्गा प्रसाईँबाट सबै दलले पाठ सिकेर अगाडि बढ्न आवस्यक रहेको उनले बताए ।

पूर्वराजाले विभिन्न देशका राजाको इतिहास सम्भना छ भने एक पटक फेरी स्मरण गर्न आवस्यक रहेको उनले बताए । नेपाल लोकतन्त्रका लागि ७० वर्ष लडेको देश भएको बताउँदै उनले यहाँ कुनै नायकको खाँचो नभएर केवल सामुहिक शक्तिको खाँचो रहेको बताए । दुर्गा प्रसाईँ आफैं मालिक नभएर कसैको सम्पत्तिलाई परिचालन गर्ने एजेण्टमात्रै भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्