काठमाडौं, ९ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली जनताले दुर्गा प्रसाईँको आन्दोलनलाई अस्वीकार गरेको बताएका छन् । उनले प्रतिगमनको गाढा चढेर पछाडि फर्किन जनताले नमान्ने बताए ।
शुक्रबार पाइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँको आन्दोलन तुहिएको बताएका हुन् ।
‘हामी विग्रेका छौं भने सच्चिनुपर्छ, रुपान्तरित हुनुपर्छ । तर, प्रतिगमनको गाढा चढेर पछाडि फर्किन पाइँदैन । त्यो नेपाली जनता मान्दैनन् । नेपाली जनताको आत्माले अस्वीकार गरिसक्यो । जतिसुकै उफ्रिएपनि यो आन्दोलन भोलिदेखि गिलासको पानीजस्तो भएर जान्छ,’– उनले भने ।
जनतालाई सरकारका गलत काम कारबाहीको विरुद्धमा विरोध गर्ने छु्ट रहेपनि संविधानको परिधिभन्दा बाहिर जाने छुट कसैलाई नरहेको उनले बताए । उनले जनताको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहेको बताए ।