काठमाडौं, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँ प्रहरीको स्कर्टिङमा प्रदर्शनस्थल आएका छन् । हिजो (शुक्रबार) प्रशासनले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै उनलाई प्रहरीले घरबाट बाहिर निस्किन दिएको थिएन । सरकारको उक्त कार्यको व्यापक आलोचना भएपछि आज प्रहरीले स्कर्टिङसहित उनलाई प्रदर्शनस्थल सिफल ल्याएको हो ।
प्रसाईँको प्रदर्शनस्थल सिफल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त स्थानमा पनि बाक्लो संख्यामा प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।
प्रहरीले नागरिकको घरको छत–छतमा बसेर पनि निगरानी बढाइरहेका छन् । कार्यक्रमस्थल आसपास बाक्लो संख्यामा सादा पोशाकका प्रहरी पनि परिचालित भएका छन् । त्यसैगरी, अपराध अनुसन्धानमा संलग्न हुने कुकुरसहितको प्रहरीको टोली कार्यक्रमस्थल आसपासमा रहेका छन् ।
प्रदर्शनका लागि अहिले प्रसाईँ नेतृत्वको टोली भक्तपुरबाट सिफलतर्फ नाराबाजीसहित अगाडि बढिरहेको छ ।