Logo

नेपालमा बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्था चाहिन्छ, राजालाई त खोपीभित्र राख्ने होः पशुपति शमशेर



काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले नेपालमा बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्था चाहिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजालाई केवल थपनाको रुपमा खोपामा राख्नुपर्ने उनले बताए ।

‘तपाईँ चन्द्र शमशेरको पनाती, मोहन शमशेरको नाती । राणा शासनमा पनि राजाहरुलाई खोपीको देवता बनाएर राखेको हो । फेरि पनि राजा फर्काएर खोपीको देवता बनाउन चाहेको हो ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘त्यो भन्दा बढ्ता त हुनैसक्दैन । यो मुलुकलाई बहुदलीय प्रजातन्त्र चाहिन्छ, संसदीय व्यवस्था चाहिन्छ । यसमा कुनै सन्देह छैन । यो मुलुकलाई हिन्दु राष्ट्र त अझै चाहिन्छ । त्यसको साथै श्रीपेच धारण गरेको त्यो संस्था चाहिन्छ ।’

संसारमा सबैभन्दा कम खराब व्यवस्था बहुदलीय प्रजातन्त्र रहेको उनको दाबी छ । उनले संसदीय प्रणालीको विकल्पनै नरहेको बताए । संसदीय प्रणालीको विकल्प कसैले खोज्यो भने त्यो गल्ती हुने उनले बताए ।

साथै, मुलुक अब छिट्टै हिन्दु राष्ट्र हुने उनको दाबी छ । आफूहरुले कहिल्यै पनि राजतन्त्रको वकालत नगरेको उनले बताए । आफूहरुले नेपालमा राजसंस्थाको पक्षमा वकालत गरेको उनले बताए । उनले हिन्दु राष्ट्रको साथै गहनाको रुपमा श्रीपेच लगाउने राजा भएमा झनै राम्रो हुने बताए ।

राजसंस्था दुर्गा प्रसाईँजस्ता व्यक्तिको आन्दोलनबाट नफर्किने उनको दाबी छ । दुईतिहाई मत ल्याएर चुनावबाट विधिवत रुपमामात्रै राजसंस्था स्थापना हुनसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्