काठमाडौं, १२ मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पार्टीबाट गएका दुई जना मन्त्रीले चित्तबुझ्दो काम गर्न नसकेको बताएका छन् ।
हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।
‘तपाईँको पार्टीबाट दुई जना मन्त्री बन्नुभएको छ । उहाँहरुले काम राम्रो गर्नुभएको छ ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘उहाँहरु पनि निर्वाहमुखी हुनुहुन्छ । कुनै उल्लेखनीय प्रगति यस्तो गर्नुभयो भनेर देखाउन सक्ने कुरा त्यो पनि गर्न सकेको जस्तो देखिँदैन । निर्वाह गर्नुभएको छ । उहाँहरु इमानदार हुनुहुन्छ भन्नेसम्म चाही म बुझ्छु ।’
कृषि मन्त्री भुसालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भर कृषि अभियानलाई सञ्चालन गर्न सक्ने खाल्को नयाँ कार्यक्रम ल्याउन नुसकेको उनको दाबी छ ।
मन्त्रीद्वय भुसाल र ज्वालालाई पार्टीले प्रभावकारी र राम्रो काम गर्न निर्देशन दिएको उनले बताए । अहिले मन्त्रीद्वय पार्टीले दिएको निर्देशनको दवाबमा रहेको उनको भनाई छ ।