काठमाडौं, १२ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र फाल्न भन्दै आन्दोलन सुरु गरेको आज छ दिन भयो ।
प्रसाईँले पहिलो दिनको कार्यक्रम बल्खुमा गरे । दोस्रो दिन उनलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले घर बाहिर निस्कन दिएन । त्यस्तै, तेस्रो दिन उनले सिफलको चौरमा कार्यक्रम गरे ।
हिजो (मंसिर ११ गते) प्रसाईँले गौशलामा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा उनलाई साधु, सन्तले साथ दिए । विवादित धर्मगुरु श्रीनिवासले उक्त प्रदर्शनमा आक्रामक अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रसाईँका समर्थकलाई दिन प्रतिदिन नियन्त्रणमा लिइरहेको छ । उनको आन्दोलनमा सहभागी हुनेहरुको संख्या दिन प्रतिदिन घट्दो क्रममा छ ।
आज (मंगलबार) आन्दोलनका लागि प्रदर्शनकारीसहित गौशलातर्फ आउन लागेका प्रसाई र उनका समर्थकहरुलाई प्रहरीले पेप्सिकोलाबाटै फर्काइदिएको छ ।
प्रदर्शनका लागि आफ्नो निवास ठिमीबाट तीनवटा गाडीमा प्रदर्शनकारीसहित लिएर निस्केका प्रसाईँलाई पेप्सिकोलास्थित मनोहरा पुलमा प्रहरीले रोकेको थियो । त्यहाँ केही क्षण विवादसमेत भएको थियो । प्रहरीको अवरोधपछि प्रदर्शनकारी र प्रसाईँ निवासतर्फनै फर्किएका छन् ।