काठमाडौँ, १२ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) आरके शर्मा समूहले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा गम्भीर त्रुटि भएको दाबी गरेको छ । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै आरके शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरुका भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु सहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौं। तर अहिले पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन। प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन’, शर्माले भने, ‘ त्यसैले संसारभरि रहेका लाखौं गैरआवासीय नेपालीहरुको भावनासंग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारवाही गर्न माग गर्दछौं।’
शर्माले महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरुलाई अमान्य हुने बताए ।
शर्माले उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको र यस समबन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको बताए ।
यस्तै, सिस्टमको फिचर अनुसार सबै पदाधिकारीको मत संख्या अनिवार्य बराबर हुनुपर्नेमा फरक–फरक भएको उनले बताए ।
यसैगरी, नेपालमा आउने प्रतिनिधिहरुले अनिवार्य काठमाडौँको सोल्टीहोटलको वुथवाट मतदान गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलबाट खसेको मत समान हुनु पर्नेमा फरक भएको उनले बताए ।
विधानको दफा २१ (७) अनुसार अन्तराष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको उनले बताए ।
यस्तै, अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९५ बाट घटाएर ६५५ बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनले बताए ।
यसैगरी फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशतभन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरीत भएको र निर्वाचनको बीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको उनको दाबी छ ।
सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीबाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुनसक्ने आशंका आफूहरुलाई रहेको उनको भनाइ छ ।
नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामबाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको शर्माले बताए ।
निर्वाचनमा नेपालको समय राति १२ बजेसम्म जुम माध्यमबाट पनि मतदान गर्ने व्यवस्था गरिएतापनि १२ बजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानबाट बञ्चित गरिएको शर्माको जिकिर छ ।
कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ बजेसम्म आफ्ना प्रतिनिधिलाई जुममार्फत मतदान गर्न लगाई जुमभित्र पसिसकेका बाँकी ५४ जना प्रतिनिधिलाई मतदानवाट बञ्चित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित रहेको शर्माको भनाई छ ।
अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौँस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालीन तीनजना अध्यक्षहरु कूल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुई साताभित्र छानबिन गर्ने सहमति भएको शर्माको भनाई छ ।
तर, उक्त सहमतिलाई उलंघन गरेर बद्री केसीले आफैंलाई अध्यक्ष घोषणा गरेकाले त्यसमा आफूहरुको आपत्ति रहेको शर्माले बताए । संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको शर्माको भनाई छ ।
निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हाँस्यास्पद रहेको शर्माले बताए । ‘जसको बारेमा गम्भीर आरोप लगाइएको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने जस्तो शर्त सहितको छानविन समिति बनाउने भन्ने प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं’, शर्माले भने ।
११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको कुरा पनि आफूहरुले उठाउंँ आएको शर्माले बताए । ‘एनसिसि रसिया, एनसिसि किर्गिस्थान, दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको थाहा भएको छ ।
त्यस्तै संघको विधान तथा प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको थाहा हुनआएको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधी चयन नभएसम्म एनसिसि युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नु का साथै एनसिसि युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाए पछि मात्र एनसिसि युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको साथै विधान र नियमावलीले दिएको मिति भन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको छ ।’
शर्माले अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको रिपोर्ट आफूहरुले आधिकारिक रुपमा नपाएको पनि बताए । तर संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाणहरु रहेको उनको भनाइ छ ।