Logo

रवि लामिछाने सत्तारोहणको तयारीमा, एमालेसहितको नयाँ गठबन्धन बनाउन तयार होलान् त प्रचण्ड ?



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्ष आगामी पुष १० गते पुग्दैछ । योबीचमा सरकार परिवर्तनदेखि मन्त्रिरिषद पनूर्गठनसम्मको हल्ला चलेको थियो । सत्ता गठबन्धन टुटाएर कांग्रेस–एमालेको नयाँ गठबन्धन बन्नेपनि हल्ला नचलेको होईन । यो बीचमा व्यवस्थाविरुद्ध सडक आन्दोलन पनि भएका छन् ।

राजावादीहरुले गणतन्त्र फालेर राजसंस्था ल्याउनेपनि नारा लगाउँदै आएका छन् । मंसिर ७ गते पूर्व एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था उल्टाउने भन्दै काठमाडौंमा प्रदर्शनसमेत गरे । तर, उनको पनि आन्दोलन तुहिएको छ । प्रधानमन्त्री दाहालले नै अहिलेको व्यवस्थामाथि चूनौति थपिएको भन्दै १२ बुँदे पक्षधरसँग सिंहदरबारमा छलफल गरे । लगत्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भयो ।

ओलीले व्यवस्थाविरुद्धको आन्दोलनको प्रतिकारमा पार्टीको युवा–विद्यार्थी पँक्तिलाई नै सडकमा उतारे । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालमा गणतन्त्रको विकल्प नभएको भन्दै व्यवस्थाको कडा रुपमा बचाउ गरेका छन् । अहिलेको संविधान र व्यवस्थाको पक्षमा प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् ।

तर, सरकारको कामकारबाहीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक रुपमा नै आलोचना गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले त सरकारको विकल्प खोज्नेगरि छिट्टै आन्दोलन छेड्ने पनि घोषणा गरेका छन् । उनको बोली र व्यवहारमा एकरूपता भेटिएको छैन् । एकातिर उनी प्रचण्डलाई फाल्ने भनेर चूनौति पनि दिइरहेका छन् भने अर्कोतिर तिनै प्रचण्डसँग घण्टौं एक्लाएक्लै भेटवार्तामा पनि व्यस्त हुने गरेका छन् ।

यही बीचमा प्रधानमन्त्री दाहाललाई नयाँ गठबन्धन बनाउन प्रस्तावसमेत आएको चर्चा छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष ओलीले नै प्रधानमन्त्री दाहाललाई कांग्रेस गठबन्धन छोडेर नयाँ गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेको चर्चा छ । रास्वपाका सभापति लामिछानेले पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकको लागि मधेश प्रदेश झर्नुअघि प्रधानमन्त्री दाहालसँग दुई घण्टा लामो भेटवार्ता गरेको बुझिएको छ ।

सो भेटवार्तामा प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री दाहालको प्रस्तावमा सभापति लामिछानेले सकारात्मक जवाफ दिएको र आफूलाई गृह मन्त्रालय नै दिनुपर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ । जवाफमा प्रधानमन्त्री दाहालले त्यसबारेमा पनि सोच्न सकिने बताएका थिए। हिजोमात्रै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग दुई घण्टा लामो भेटवार्ता गरेका छन् ।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताईएको छ । टिआरसी विद्येयकको विषयमा पनि कुराकानी भएको बताईएको छ। तर, अन्तर्यमा यी दुई नेताबीच पनि नयाँ गठबन्धन बनाउनेबारे छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले कांग्रेस छोडेर नयाँ गठबन्धन बनाउनेबारे आफूले अहिले नै नसोचेको जवाफ दिएको स्रोतको दाबी छ । एमाले नेतृत्वले कांग्रेसले विस्तारै मुलुकलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन खोजेको भन्दै सचेत हुन प्रधानमन्त्री दाहाललाई सुझाव दिएको छ ।

प्रधानमन्त्री दाहालले पनि सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठन गर्ने मुड बनाएका छन् । उनले रास्वपालाई सरकारमा सहभागी गराउनेगरि मुभ थालेका छन् । रास्वपा सरकारमा सहभागी भएर उपेन्द्र यादव नेतृत्वको जसपा भने सरकारबाट बाहिरिने बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध चिसिएको छ । यादवले यो बीचमा एमाले नेतृत्वसँगको छलफलमा आफ्नो विकल्प खोज्नेगरि पहलकदमी लिएको सूचना पाएपछि प्रधानमन्त्री प्रचण्ड उनीसँग रुष्ट छन् । रास्वपाका सभापति लामिछानेलाई गृहमन्त्रालयको नेतृत्व दिन सकिने कुरा प्रधानमन्त्री दाहालले आफ्नो दलका नेताहरुसँग पनि चुहाएका छन् ।

तर, अहिलेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने प्रधानमन्त्री दाहालको उक्त प्रस्तावलाई लिएर रुष्ट छन् । प्रधानमन्त्री दाहालले भने श्रेष्ठलाई उपप्रधानसहित उर्जा मन्त्रालयको नेतृत्व लिन भनेका छन् । यसबारेमा श्रेष्ठले कुनै प्रतिक्रिया जनाएका छैनन् । प्रधानमन्त्री दाहाल आज कोप–२८ मा भाग लिन युएई जाँदैछन् । उताबाट फर्किएलगत्तै लामिछानेसँग सत्ता–सहकार्यबारे छलफल गर्ने बुझिएको छ । रविले पनि आफ्नो दल सरकारमा जान सक्ने अभिव्यक्ति दिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्