काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु राष्ट्रको सन्दर्भमा विचार गर्न सकिन्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ । देउवाले केही दिन अघि नवलपुरमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै धर्मनिरपेक्षताको बारेमा पार्टीमा बहस चलाउन सकिएपनि गणतन्त्रको विकल्प नभएको बताएका थिए ।
कांग्रेस सभापति देउवाले उक्त अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको करिब साढे दुई घण्टाको भेटवार्ताले राजनीतिमा तरङ्ग ल्याइदिएको छ ।
कांग्रेसका नेताहरु शशांक कोईराला, शंकर भण्डारी, भीम पराजुली लगायतले समेत हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आउनु र सभापति देउवाले समेत धर्मनिरपेक्षताबारे पार्टीमा बहस चलाउने अभिव्यक्ति दिनुले आशंका पैदा हुन पनि स्वभविकनै हो ।
यसो त कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा सभापति देउवाको अभिव्यक्तिको आशय नेपाल हिन्दुराष्ट्रनै हुनुपर्छ भन्ने नभएको बताउँछन् । हिजो (बुधबार) कांग्रेस पदाधिकार र पूर्व पदाधिकारीहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टी संविधान र संविधान कार्यान्वयनको पक्षमा पूर्ण इमानदार रहेको र देउवाले धर्मावलम्बीहरुको भावनालाई सम्मान गरेको बताए ।
तर, नेकपा (माओवादी) केन्द्रका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ भने वर्तमान गठबन्धन तोडेर अर्को गठबन्धन बनाउनुपर्ने आवस्यकता नरहेको बताउँछन् । अर्को गठबन्धन अहिले राष्ट्रको आवस्यकता पनि नभएको र प्रधानमन्त्री प्रचण्डले समेत त्यतातर्फ नसोचेको उनको भनाई छ ।
‘मलाई त्यस्तो लाग्दैन । प्रधानमन्त्रीसँग कुरा भएअनुसार तत्कालका लागि यो गठबन्धन तलमाथि गरेर अहिले अर्को गठबन्धन बनाइहाल्ने आवस्यकता राष्ट्रको पनि होईन । प्रधानमन्त्री त्यसमा हुनुहुन्न,’– हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सापकोटाले भने ।
एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका क्रममा गठबन्धन परिवर्तनको पक्षमा कुनै छलफल नगरेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा शान्ति प्रक्रिया सम्बन्धी बाँकी कामहरुलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने, व्यवस्थाका विरुद्धमा सतहमा आएको कुराहरुलाई गम्भीरतापूर्वक लिने र अर्थतन्त्रलाई सुव्यवस्थित तुल्याउने कुरामा छलफल भएको उनले बताए ।
‘प्रमुख प्रतिपक्षी दलका नेतासँग मूलतः सत्य निरुपण मेलमिलाप आयोग अथवा टिआरसी विधेयक संसदमा विचाराधीन छ । नयाँ अधिवेशनमा हामी जाँदाखेरी टिआरसी विधेयक, शिक्षा, विद्युतजस्ता महत्वपूर्ण विधेयकहरु पाइपलाईनमा छन् । ती विधेयकहरुलाई हामीले जतिसक्दो चाँडो पास गराउनु छ,’– सापकोटाले भने ।
साथै, राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री र सम्बद्ध निकायहरुका बीचमा समझदारी नहुँदासम्म अर्थतन्त्र सुदृद्ध गर्न नसकिने उनले बताए । सरकारले अर्थतन्त्रका क्षेत्रमा काम गर्न सकेन भनेर विश्लेषण हुने गरेको भएपनि सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा एकरुप समझदारीका साथ अगाडि जान नसकेको कारण अर्थतन्त्र लयमा नफर्किएको उनको भनाई छ । File Photo/RN