काठमाडौं, मंसिर १५ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले उच्च अदालत पाटनबाट आज आदेश आउने सम्भावना रहेको हो ।
उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो । मंगलबार प्रतिवादीतर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ । न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।