Logo

सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा



काठमाडौं, मंसिर १५ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयको हिजो बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ अनुसार १४ वटा निर्माण व्यावसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्राली काठमाण्डौ, साहनी विल्डर्स रुपन्देही, भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाई जेभी काठमाण्डौ रहेका छन् । यी कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै आर। डी सप्लायर्स प्राली काठमाण्डौ, सुनौलो खिम्ती कन्स्ट्रक्सन काठमाण्डौ र एस कन्स्ट्रक्सन सिन्धुपाल्चोक दुई वर्षका लागि तथा थापा–ओम निलकण्ठेश्वर जेभी काठमाण्डौ एक वर्ष छ महिनाका लागि कालोसूचीमा परेको छ ।

यसैगरी वैष्णवी एन्ड लोकेन्द्र सप्लायर्स पर्सा, खहरेखोला इन्टरप्राइजेज काठमाण्डौ, टिम बिल्डर्स प्राली काठमाण्डौ, आईपी स्टेशनरी तथा जेनरल सप्लायर्स काठमाण्डौ, सार्थक निर्माण सेवा सुनसरी, सयपत्री निर्माण सेवा सुनसरी र आरोग्य बिल्डर्स एन्ड कन्स्ट्रक्सन प्राली काठमाण्डौलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज शुक्रवार निकालेको सूचनामा उल्लेख छ । कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्