काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ दलहरुले आफूलाई बिग्रिएको कांग्रेस–कम्युनिष्टकै रुपमा आफूलाई स्थापित गराएको टिप्पणी गरेका छन् ।
हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नयाँ दलहरु नयाँ क्रान्तिकारी सोचाइ लिएर आउनुपर्नेमा कांग्रेस–कम्युनिष्टै पद चिन्ह पछ्याउँदै हिँडेको आरोप लगाएका हुन् ।
गत आम निर्वाचनबाट उदाएका नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीतर्फ लक्षित गर्दै उनले ती दलहरु कांग्रेस– कम्युनिष्टै पद चिन्हका हिँडेको खण्डमा क्षणिक आत्मरतिमात्रै हुने बताए ।
‘बिग्रिएको कांग्रेस, बिग्रिएको कम्युनिष्टकै रुपमा आफूलाई स्थापित गराउन चाहन्छन् नयाँ पार्टीहरुले भने मैले के भन्ने ? दया व्यक्त गर्नेबाहेक केहीपनि छैन नि । मैले त सोचेको थिएँ– उहाँहरु एउटा क्रान्तिकारी सोचाइ लिएर आउनु भएको होला ।’ उनले भने, ‘तर, उही बिग्रेको, सडेको, कुहिएको कांग्रेस, कम्यनिष्टहरुकै पद चिन्हमा उहाँहरु हिँड्न रुचाउनुहुन्छ भने त्यो क्षणिक आत्मरतिमा रमाए हुन्छ ।’ File Photo/RN