Logo

जोताहा किसानहरुको जमिन खोसेर कर्पोरेट हाउसको जिम्मा लगाउन हुँदैनः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, १६ मंसिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीका समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय भूमि अधिकार मञ्च चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासी र किसानहरुको समस्या समाधानको पक्षमा काम गरिरहेको बताएका हुन् ।

भूमि सम्बन्धी समस्या समाधानका पक्षमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकदमै गम्भीरताको साथ लागिरहेको बताए । उनले किसानको हातबाट जमिन नखोसिने समेत बताए ।

जोताहा किसानको हातबाट जमिन खोसिएर कर्पोरेट हाउसलाई जिम्मा लगाउन हुँदैन भन्ने कुरामा सरकार प्रष्ट रहेको उनले बताए । उनले सरकार किसानहरुको रक्षा र कृषि क्रान्तिको पक्षमा रहेको बताए ।

संसद्को अधिवेशन ढिला भएको खण्डमा अध्यादेश जारी गरेर भएपनि भूमि आयोगका काम कारबाहीलाई अगाडि बढाउने उनले बताए । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय भूमि आयोगका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीसँग छलफल गरेको उनले स्मरण गराए । सामन्तवादको अवशेषलाई अन्त्य गर्नका लागि जोताहा किसानलाई जमिन दिनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्