काठमाडौं, १७ मंसिर । फिल्ममा निर्देशक के हो ? मिडिया कुराकानीका लागि तयार भएका निर्देशक घनश्याम लामिछाने केही समय सोचमग्न भए । यसपछि भने–‘कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचक हो ।’
उत्तर जति छोटो छ, त्यसलाई पर्दामा रुपान्तरण गर्ने यात्रा उती नै कठिन पनि । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ । उनी अर्काे निर्देशकमा के खोज्छन् होला ?
त्यसको उत्तर पनि लामो दिएनन् उनले । भने–‘प्रस्तुतिलाई हेर्छु, कति गहिराइमा पुगेर विषयबस्तुको प्रस्तुति दिएको छ भनेर याद गर्छु ।’ पुस २७ गतेबाट उनी निर्देशित फिल्म चित्रा’ रिलिज हुँदैछ । लामिछाने यही फिल्मको पोष्ट प्रोडक्शनमा व्यस्त छन् ।
पुराना निर्देशकहरुमा शिव रेग्मीका फ्यान हुन् लामिछाने । नयाँमा भने उनी परिच्छेद सेनको कामबाट प्रभावित छन् ।निर्देशकमा आफ्नो स्टाइल हुनुपर्छ भन्ने उनको खरो मान्यता छ । उनलाई लाग्छ निर्देशकले दिने स्टाइल कथाले निर्धारण गर्छ । त्यही भएर उनी निर्देशन गर्दा पहिला कथा हेर्छन् र त्यसले माग गर्ने स्टाइलमा फिल्म बनाउन अघि सर्छन् ।
‘चित्रा’को कथाले पनि उनलाई फरक स्टाइलमा कथा भन्न प्रेरित ग¥यो । त्यसैले उनले यथार्थको नजिक रहेर अघिल्ला फिल्महरु बनाएको भएपनि यसपटक यथार्थतासँगै क्यानभास निर्माणमा पनि ध्यान दिएका छन् । त्यो पनि ठूलो क्यानभास । ठूलो क्यानभासमा उनको स्टाइल मिलेपछि ‘चित्रा’को जन्म भएको हो ।
चित्राले देखाउने कथा के हो त ? अर्को प्रश्नमा उनी भन्छन्–‘हामीले धेरै कथाहरु अरुको हेरेर बनायौं । अरुले भनिसकेका कथाहरु भन्यौं । कथा भएनन् भनेर खोज्दै पनि हिँड्यौं तर हामीले घर समाजमै रहेका कथाहरुलाई भन्ने कोशिश कहिले गरेनौं । प्रस्तुतिमा त प्रभावित थियौं हामी । तर, कथा छनोट गर्दा पनि प्रभावित भएका छौं । हामी त्यसबाट पर रहँदै ‘चित्रा’मा बाबु र छोरीको आफ्नो कथा भनेका छौं ।’
थप व्याख्या गर्दै उनी थप्छन्–‘हाम्रा धेरै फिल्म सामान्य प्लटहरुमा मात्र आधारित रहे । जस्तो अपहरण देखाउनु छ भने कि प्रेमिकालाई देखायौं कि श्रीमतीलाई । जे गरेको हुन्छ सँधै केटा पात्र मात्रले यस्ता कामहरु गरेको देखायौं । त्यस्तै हामी माया प्रेमका प्रसंगहरुबाट पर जान नै सकेनौं । यसमा पनि प्रेम त छ तर परिवारभित्रको बाबुछोरीको प्रेमको कहानी छ, स्नेहको कहानी छ, वात्सल्यको । यसको कथा सबैको जीवनमा घटेन होला तर सबैले आफूलाई यसमा जोड्न सक्छन् भन्ने मलाई लाग्छ ।’
लामिछानेले यो फिल्म आफ्ना अघिल्ला फिल्म भन्दा फरक रहेको दाबी गरे । अघिल्ला फिल्महरुमा यथार्थताको नजिक रहेर काम गर्दा कथा केही सुस्त गतीको र सरल भएपनि यसपटक यथार्थलाई नबिर्सी श्रृंगारपटार गरेर बनाएको उनको भनाई छ ।
दर्शकले मनोरञ्जन खोज्ने भएकाले पनि यसपटक आफूले त्यसलाई बढी ध्यान दिएको उनको तर्क छ । फिल्ममा बाबु र छोरीबिचको भावनाको कथा बेजोड रहेको लामिछाने बताउँछन् ।
मूलधारको फिल्ममा आएदेखि नै उनले कलाकार भने नाम चलेका नै छान्दै आएका थिए । जुन यसमा पनि जारी छ । तर, फिल्मको मुख्य भूमिकामा भने नयाँ कलाकार सन्तोष अधिकारी छन् । तर, निर्देशक लामिछाने आफ्ना सबै कलाकारको कामबाट खुशी छन् ।
तर सबैभन्दा खुशी भने उनलाई यो फिल्मकी बाल कलाकार आयुशी ढकालले दिइन् । आयुशीको कामबाट धेरै प्रभावित बनेको उनले खुलाए ।‘फिल्ममा अरु थुप्रै कलाकारहरु त हुनुहुन्छ नै तर ६–७ वर्षको नानीबाट यस किसिमको अभिनय आएको छ कि जुन व्यवसायिक कलाकारबाट पनि पाउन मुश्किल पर्छ ।’ उनले भने ।
डेब्यू अभिनेताका रुपमा सन्तोष अधिकारीको कामले पनि उनी प्रभावित बनेका छन ्। ‘चित्रामा काम गरेका प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे आदिका बारेमा अभिनय कस्तो गर्नुभयो भनेर थप व्याख्या दिन उनी आवश्यक ठान्दैनन् ।
उनका पछिल्ला फिल्महरु ‘धौली’ तथा ’पञ्जेबाजा’ले राम्रो समीक्षा पाए । यसपछि भने निर्देशक लामिछानेको नाम राम्रो फिल्म बनाउने निर्देशकको कोटीमा परिसकेको छ । पौष २७ गतेबाट रिलिज हुन लागेको ‘चित्राबाट लामिछाने आफै पनि आशावादी छन् । यी पूर्व शिक्षकले फिल्मलाई जुन लयमा बगाएका छन्, त्यसले काम गर्यो भने नेपाली फिल्म क्षेत्रले धेरै कुराहरु पाउने पक्का छ ।