काठमाडौं, २० मङ्सिर । नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।
अध्यक्ष ओली नेतृत्वकोे केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमाक्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् ।
अध्यक्ष ओलीसहित १ सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । बुधबार गलकोटसम्म हुने सङ्कल्पयात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रुपान्तरण हुने जनाईएको छ ।