कुश्मा (पर्वत), २१ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन दिएर बङ्गलादेश जाने बाटो लिने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभएको बताएका छन् ।
समृद्विका लागि सङ्कल्प यात्राको क्रममा पर्वतको कुश्मामा आज (बिहीबार) आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– बङ्गलादेशको बाटो नेपालले पहिले नै लिइसकेको छ । बाटोको नाममा नेपाली भूभाग सुम्पने अधिकार प्रधानमन्त्री प्रचण्डलाई छैन । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला जमिन सट्टापट्टा गर्ने प्रस्ताव राखेको भन्ने सुनियो, यदि त्यसो गरिएको हो भने यो राष्ट्रप्रति ठूलो बेइमानी हो ।
उनले देशमा सरकार त छ तर काम लाग्ने खालको रहेको टिप्प्णी गरे । उनले भने– हामीले उत्तरतिर नाका खोल्यौँ तर ती नाका सञ्चालन गर्ने यो सरकारसँग कुनै दम छैन । जाजरकोट र रूकुममा भूकम्पले ठूलो जनधनको क्षति भयो तर सरकारले राहत दिनुपर्नेमा कानमा तेल हालेर बसेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यो सरकार देशका लागि बोझ भएको बताए । उनले भने– देश कसैको विर्ता होइन, हामीले सामना गर्न नपरोस्, यात्राको क्रममा अवरोध गर्ने जस्ता दुषित बुद्वि छाडिहाल नभए यसले सत्यानाश गर्नसक्छ ।
उनले एमालेले नेपालको नक्शा अद्यावधिक गरी ९कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटर चुच्चे नक्सा बनाएको० संविधानको अङ्ग बनाएको भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन त के बोल्न पनि नसकेको आरोप लगाए । उनले सरकारका कामले जनतामा निराशा र अन्यौलता मात्र बढेको पनि आरोप लगाए ।