Logo

विप्लवमाथि पक्राउ पुर्जी जारी हुनुमा प्रधानमन्त्रीको नीजि सचिवालय दोषी रहेको बिडारीको आरोप (भिडिओसहित)



काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि सचिवालय सक्रिय हुन नसकेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सफल हुन नसक्नुमा सचिवालयको कमजोरी रहेको बताएका हुन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतामाथि पक्राउ पुर्जी जारी हुनुसमेत प्रधानमन्त्रीको नीजि सचिवालयको निष्कृयताले सहयोग गरेको टिप्पणी गरे ।

साथै, गठबन्धनमा चलेको सरकार, एकदम पुरानो, भ्रष्ट कर्मचारीतन्त्र, मन्त्रिपरिषद् बैठक चल्दा सिंहदरबारमा विज्ञ मानिस नहुन लगायतका कारणले पनि प्रचण्ड नेतृत्वको सरकार सफल हुन नसकेको उनको भनाई छ ।

अदालत सरकारको मतहतमा नहुने र प्रधानमन्त्री वा सरकारले गरेको निर्णय सबै अदालतले नमान्ने उनको भनाई छ । शक्तिपृथकीकरणको सिद्धान्तअनुसार अदालत स्वतन्त्र हुने उनको भनाई छ । विप्लवलाई अदालतबाट पक्राउ प्ुर्जी जारी हुनुमा महान्यायाधिवक्ताको कार्यालय, मन्त्रिपरिषद् र प्रधानमन्त्रीको नीजि सचिवालय दोषी रहेको उनको आरोप छ ।

मुद्दा फिर्ता लिने वा कानुन बनाएर अदालतलाई कानुनबमोजिमको काम गर्नलाई बाध्य पार्नुपर्नेमा दुवै नगरेपछि मुद्दाका सन्दर्भमा अदालतले पक्राउ पुर्जी जारी गर्नुलाई अन्यथा मान्न नसकिने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा दया मायाबाट आएका फन्टुस मन्त्रीसमेत रहेको उनले बताए । गठबन्धनका कारण मन्त्री गतिलो नहुँदासमेत हटाउन नसकिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्