Logo

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी



काठमाडौं, २३ मङ्सिर । चितवन जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । चितवनमा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।

असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ,”– उनले भने ।
हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले रु दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रकम बाँकी रहेको छ । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले बताए । “अहिले दूध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ,”– उनले भने ।

चितवनमा उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दूध जिल्लामै खपत हुने गरेको उनले जानकारी दिए ।

“किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ,”– उनले भने ।

उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उनले बताए । अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्