काठमाडौं, २३ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गठबन्धन दलमा समीकरण मिलाउने क्रममा आफू महिला मन्त्री बनेको बताएका छन् । निर्वाचित सांसद भएको हैसियतले विकासे मन्त्रालयको नेतृत्व गर्न चाहे पनि साना दललाई पनि मिलाएर भ्यागुताको धार्नी पुर्याउँदा आफू महिला मन्त्री बनेको उनले बताए ।
नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको ‘समान सहभागिताका लागि सञ्चारकर्मीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले रहरले भन्दा पनि सत्ता समीकरण मिलाउँदा उक्त मन्त्रालयको नेतृत्व आफ्रूले सम्हालेको बताएका हुन् ।
‘म रहरले होईन, राजनीतिक समीकरणको आधारमा म निर्वाचन जितेर आएको मान्छे म चाहन्थेँ विकासे मन्त्रालय पाउन पर्छ भनेर । हामी गठबन्धनको आधारमा चुनाव लड्यौं माओवादी र कांग्रेस मिलेर । तर, सरकार बन्ने बेलामा एमाले र माओवादीको मिलेर बन्यो । हामी चाहन्थ्यौं कसरी त्यो सरकारलाई गिराउँ ? हामीले पुरानै गठबन्धन कायम गर्यौं । पुरानै गठबन्धन कायम गर्दा केही साना दलहरुलाई पनि मिलाउन पर्ने अवस्था भयो । कांग्रेस जिम्मेवार पार्टीको हैसियतले ती भ्यागुताको धार्नी मिलाउने क्रममा सरकार गठन गरेको हो । मैले यो महिला मन्त्रालयलाई अपहेलित गर्न खोजेको होईन । म पनि चाहन्थेँ यो मन्त्रालय महिलाहरुकै जिम्मा होस्,’– उनले भने ।
अहिले देशमा भ्रष्टाचार सबैभन्दा ठूलो रोग भएको उनले बताए । साथै, महिलाहरुलाई नेतृत्व दियो भने त्यहाँ भ्रष्टाचारमा अटोमेटिक कमी आउँछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
महिलाको नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम रहेको उनले बताए । सरकारले महिलालाई थप अधिकार दिने कुरामा गम्भीर हुन आवस्यक रहेको उनले बताए ।