काठमाण्डौं, मंसिर २५ । हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ ।
आईतबारदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।
परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटकपटक आग्रह गर्दै आएको छ । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास भइरहेको जवाफ र्दिएका छन् ।