काठमाडौं, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने घिट्घिटो नरहेको बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई पद ठूलो कुरा नभएको बताएका हुन् । उनले वर्तमान सरकारलाई अप्ठ्यारो पार्ने कुनै पनि अभिव्यक्ति दिन नचाहेको बताए । नेता नेपालले सत्ता समीकरण परिवर्तनका बेलामा भएको सहमतिका बारेमा बोल्न चाहेनन् । सबै कुरा समय आएपछि बोल्न पर्ने कुरा भए बोल्ने उनले बताए ।
‘एक वर्षपछि तपाईँ प्रधानमन्त्री बन्ने पक्कापक्की हैन ?’ भन्ने धमलाको पश्नमा उनले भने, ‘खाली म प्रधानमन्त्री बन्ने कुराका निम्ति लागेको हो ? म त जनताको सेवा गर्नका निम्ति लागेको हो । देशको हित र कल्याणका निम्ति समर्पित हुन खोजेको हो । त्यसो हुनाले त्यो समयको कुरा हो, समय आएपछि केही भन्नुपर्ने कुरा भए भनौंला । तर, त्यो मेरो घिट्घिटोको कुरा होईन ।’
साथै, एनसेल शेयर खरिद– विक्री प्रकरणमा कोही पनि दोषी उम्कन नहुने उनको भनाई छ । यस प्रकरणमा जो जसकको संलग्नता रहेपनि कारबाही हुनुपर्ने उनले बताए । File Photo/RN