Logo

राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरहरु एकजुट हुन कमल थापाको आह्वान



काठमाडौं, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था असफल भएको बताएका छन् । आज (सोमबार) राप्रपा नेपालले आयोजना गरेको उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र भ्रष्ट र तस्करतन्त्रमा रुपान्तरण भइसकेको बताएका हुन् ।

‘गणतन्त्रको नाममा कायम रहेको वर्तमान ब्यवस्था असफल प्रमाणित भएको छ । गणतन्त्र भ्रष्ट ब्यवस्था र तस्करतन्त्रमा रुपान्तरण भएको छ भन्ने राप्रपा नेपालको निश्कर्ष रहेको छ,’– उनले भने ।

गणतन्त्रको विकल्पमा राजा, राजसंस्था र हिन्दुराष्ट्र स्थापित हुनुपर्ने उनको भनाई छ । राजनीतिक दलहरु सहमत हुने हो भने अहिलेकै संविधानको परिधिमा रहेर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न सकिने उनले बताए । अन्यथा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थपानका लागि आन्दोलन गर्न आफूहरु तयार रहेको उनले बताए । उनले एउटा पार्टी र एउटा समूहको प्रयासबाटमात्रै हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापनाका लागि समान विचार भएका राजनीतिक दलहका समूहहरुमा बृहत मोर्चा बनाउनु पर्ने उनले बताए ।

गणतन्त्रमा न्याय दिनुपर्ने निकायमा रहेका ब्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न रहेको उनले बताए । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको संयन्त्रनै भ्रष्टाचारमा संलग्न रहेको उनको आरोप छ । उनले राज्य र सरकारले गरेको भ्रष्टाचारका ज्वलन्त नमुनाको रुपमा नक्कली भुटानी शरणार्थी प्रकरण, एनसेल काण्ड, सुन तस्करी प्रकरण लगायतका काण्ड भएको उनले बताए । कानुनले धर्म परिवर्तन निषेध गरेको भएपनि राजनीतिक आडमा धर्म परिवर्तनको डढेलो सल्किरहेको उनले बताए । विदेशी मालिकहरुलाई खुसी बनाउनका लागि र भोटको भोकका कारण ९४ प्रतिशत ओमकार परिवारको अपमान भएको उनको भनाई छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्