Logo

माघ १० गते मधेश बन्द गर्ने आजपाको घोषणा



काठमाडौं, २६ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आगामी माघ १० गते मधेश बन्द गर्ने घोषणा गरेको छ । आजपाका मधेश प्रदेश समिति अध्यक्ष उमेश कुश्वाहाले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीको नेतृत्व र बैंक तथा वित्तिय पीडित संघर्ष समितिको आयोजनामा आगामी माघ १० गते मधेश बन्द गर्ने निर्णय भएको जनाए ।

आजपाले बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिव किसानले लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जाको आवाज उठाउँदै आएको छ । तर, आफूहरुले उठाएका मागप्रति सरकार गम्भीर नभएको भन्दै बाध्य भएर संघर्षका कार्यक्रमसहित सडकमा उत्रिन लागेको कुश्वाहाले जनाए ।

आजपाको मधेश प्रदेश इन्चार्ज सुधिर यादव र अध्यक्ष कुश्वाहाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमार्फत संघर्षका कार्यक्रमपनि सार्वजनिक गरिएको छ । सार्वजनिक संघर्षका कार्यक्रममा आगामी पुष १२ गते प्रदेशस्तरीय भेला वीरगञ्जमा गर्ने, पुष मसान्तसम्म स्थानीय पीडितहरुसँग अन्तरक्रिया र संघर्ष समिति गठन गर्ने, माघ १ गतेदेखि माघ ८ गतेसम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, माघ ९ गते प्रत्येक जिल्लामा मोटरसाइकल र्याली गर्ने र माघ १० गते मधेश बन्द गर्ने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्