काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडिसकेको भन्दै अब यो अभियान नरोकिने बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवासमा आफूलाई जन्मदिनको शुभकामना व्यक्त गर्न आएका रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका सभापति ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
आफ्नो प्रधानमन्त्रीको यस तेस्रो कार्यकाल देश र जनताको लागि केही राम्रो काम गरेर राम्रो छाप छोड्नेगरि सुरु भएकोले देश र जनताको हितमा चालिएको कदम अब नरोकिने जिकिर गरे । उनले पछिल्लो समय भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमका कारण केही भ्रष्टहरु अत्तालिएको र सरकारको बारेमा अनावश्यक भ्रम र आलोचनाको लागि आलोचनामात्रै गर्न व्यस्त भएको पनि टिप्पणी गरे ।
पत्रकार धमलाले भने प्रधानमन्त्री दाहाललाई जन्मदिनको अवसरमा शुभकामना दिएका थिए । सो क्रममा उनले देश र जनताको अहित हुनेगरि कुनैपनि कदम नचाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।