काठमाडौं,२७ मंसिर । वैदेशीक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाई ठगी गर्ने गिरोह बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै विभागले यस्तो आग्रह गरेको हो । नेपाल र इजरायल बीच सम्पन्न श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आएको र इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरु लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भइरहेको तर हाल यस सम्बन्धमा कुनै पनि निर्णय भई नसकेको विभागले प्रष्ट पारेको छ ।
यस सम्बन्धमा कुनै निर्णय भए विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशित गरिने विभागले जनाएको छ।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन सरोकारवाला सबैलाई अनुरोध गरेको हो।