Logo

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित



बागलुङ, मंसिर २८। जथाभावी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ ।

दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहोर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशकअघि बुर्तिबाङ बजार सानो थियो । फोहोर पनि थोरै निस्कन्थ्यो ।

सबै फोहोर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले ६ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ । बजारको फोहोर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहोर पुनः बजारसम्म पुर्‍याउँछ ।

फोहोरले तमानखोला प्रदूषित बनेको छ। तमानखोला भएर बगेको फोहोर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ। फोहोरकै कारण बडिगाड खोलामा माछा घट्दै गएको जलारीहरू बताउँछन् । हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । खोला छेउमा फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्