Logo

आज बेलुका नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न सिकिने



काठमाडौं, मंसिर २८ । आज बेलुका नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । खगोलविद्का अनुसार आज राती आकाश खुलेको बेलामा नेपालबाट उल्का वर्षा अवलोकन गर्न सकिने छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार नेपालको जुनसुकै ठाउँबाट आज बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने छ । उल्का वर्षा खाली आँखाले नै हेर्न सकिने र यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताए ।

अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उनले जानकारी दिए । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो ।

उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण (उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण) कम भएको ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्