काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने निश्कर्ष निकालेको छ । इतर समूहभित्रै लामो अन्तरद्वन्द्वपछि हिजो (बुधबार) बसेको बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले डा. शेखर कोइरालालाई संसदीय दलको नेता बन्न प्रस्ताव गरेका छन् । महामन्त्री थापा आफैं संसदीय दलको नेता बन्न चाहन्थे । उनले सभापति देउवासँग प्रतिस्पर्धा पनि गरे । तर, प्रतिस्पर्धामा इतर समूहको मतसमेत पाउन नसकेपछि उनी र शेखरबीच सम्बन्ध केही चिसिएको थियो ।
शेखरले इतर समूहको बैठक मंगलबारका लागि आह्वान गरेका थिए । तर, मंगलबार महामन्त्री थापा सहभागी नहुने निश्चित भएपछि शेखरले बैठक सारेका थिए । महामन्त्री थापाका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग सल्लाह गरेर एक दिन बैठक पछाडि सार्दै शेखरले गगनलाई पनि सहभागी गराए । बैठकमा गगनले संसदीय दलको नेता बन्न प्रस्ताव गर्दा शेखरले भने कुनै जवाफ दिएका छैनन् । संसदीय दलको नेतामा अन्तिम समयसम्म प्रयास गरिरहेने अभिव्यक्ति दिँदै आएका महामन्त्री थापाले अन्ततः आफू सफल हुने लक्षण नदेखेपछि उक्त अस्त्र शेखरतर्फ फालेका हुन् ।
इतर समूहको बैठकमा सहभागी भएका कांग्रेस नेता मधु आचार्य शेखरलाई संसदीय दलको नेता बनाउनु समाधानको सम्भावना भएको बताउँछन् । दलीय राजनीतिमा दलभित्रको प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने उनको भनाई छ । देउवाले पनि पटक– पटक गिरिजाबाबु, सुशिल कोइराला, रामचन्द्र पौडेल लगायतका नेतासँग संसदीय दलको नेता बन्न प्रतिस्पर्धा गरेको र अविश्वासको प्रस्ताव ल्याएको उनले स्मरण गराए । अहिलेको उत्तम विकल्प शेखरनै भएको उनको भनाई छ ।
‘सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा जसरी डेलिभरी दिन सक्नुहोला अथवा उहाँको पर्फमेन्स जुन रहला, त्यो भन्दा डा. शेखरको पर्फमेन्स उत्तम रहन्छ,’– उनले भने ।
अहिले शेखरको पक्षमा ३६ जना सांसदको समर्थन रहेको र अब केही सांसदहरुको समर्थन जुटाएर छिट्टै संसदीय दलको नेता परिवर्तन गर्ने तयारी रहेको उनले बताए ।