काठमाडौँ, २८ मङ्सिर । मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब १४ करोड लागतमा भवन निर्माण गरेको छ । सो भवनको यही मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
संस्थाका अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७९/८० सम्म १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० खर्च भएको छ । भवन निर्माणका लागि हालसम्म विभिन्न सरकारी निकायबाट रु एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट ११ हरोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाको भनाइ छ । भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अग्र्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ । फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ ।
संस्थाका विभिन्न १९ जिल्लामा आफ्नै भवन निर्माण सुरु गरिसकेको छ । संस्थाले चितवन, पोखरा, गोरखा र बागलुङमा चालु आवभित्रै भवन निर्माण सकिने जनाएको छ । रासस