काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण आज धरौटीमा रिहा हुँदैछन् । हिजो (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
यसभन्दा अघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा छोड्ने विषयमा मत बाँझिएको थियो । दुई न्यायाधीशबीच मत बाँझिएपछि उक्त मुद्दा सुनुवाइका लागि एकल इजलासमा हिजो पेशी तोकिएको थियो । सुनुवाइका लागि हिजो पेशी तोकिएको उक्त मुद्दामा न्यायाधीश कोइरालाले यस अघिका न्यायाधीश पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरेका थियो ।
सोही आदेश बमोजिम आज धरौटी बुझाएर खान रिहा हुने तयारीमा छन् । तर, खानले धरौटी बुझाए पनि उनलाई सम्पत्ति सुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी रहेको बताइएको छ । खानले जिल्ला अदालत काठमाडौंमा नविल बैंकको तीस लाख रुपैयाको बैक जमानत बुझाइसकेका छन् ।
सम्पत्ति सुद्धीकरण र अख्तियारले कारागार प्रसाशनलाई गरको पत्राचारको आधारमा उनलाई थप अनुसन्धानका लागि ती निकासमा जिम्मा लगाउन लागिएको हो । उक्त प्रकरणमा यसअघि रिहा भएकाहरुलाई पनि अख्तियार र सम्पत्ति सुद्धीकरणको जिम्मा लगाइएको थियो ।