Logo

धरौटीमा रिहा भए बालकृष्ण खाण, सम्पत्ति शुद्धीकरण र अख्तियारमा लगियो



काठमाडौं,२९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण कारागारबाट धरौटीमा रिहा भएका छन् । हिजो (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश हनुसार उनले काठमाडौं जिल्ला अदालतमा ३० लाख धरौटीको बैक ग्यारेण्टी बुझाएका हुन् । कारागारबाट खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।

सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा छोड्ने विषयमा मत बाँझिएको थियो । दुई न्यायाधीशबीच मत बाँझिएपछि उक्त मुद्दा सुनुवाइका लागि एकल इजलासमा हिजो पेशी तोकिएको थियो । सुनुवाइका लागि हिजो पेशी तोकिएको उक्त मुद्दामा न्यायाधीश कोइरालाले यस अघिका न्यायाधीश पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरेका थियो ।

सम्पत्ति शुद्धीकरण र अख्तियारले कारागार प्रसाशनलाई गरको पत्राचारको आधारमा उनलाई थप अनुसन्धानका लागि ती निकासमा जिम्मा लगाउन लागिएको हो । उक्त प्रकरणमा यसअघि रिहा भएकाहरुलाई पनि अख्तियार र सम्पत्ति सुद्धीकरणको जिम्मा लगाइएको थियो । Photo by: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्