Logo

‘सडक-मानव’ विहीन नेपाल बनाउने सरकारको लक्ष्य छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले २०८२ सालसम्म नेपाललाई ‘सडक–मानव’ विहीन बनाउने लक्ष्य लिएको बताएका छन् । आज (शनिबार) मकवानपुरको हेडौडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मानव सेवा आश्रम संस्थापक रामजी अधिकारीजस्ता मानिसहरुको सहयोग पाएमा मात्रै सरकारले लिएको लक्ष्य पुरा हुनसक्ने पनि उनले बताए ।

‘सरकारले भनेको छ–०८२ सम्म नेपाललाई सडक मानव विहीन बनाउने भनेर लक्ष्य निर्धारण गरिएको छ । तर, रामजी अधिकारी र उहाँको यो अभियानले मात्रै यसलाई पूर्णता दिनसक्छ भन्ने प्रष्ट देखिएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, मानवता भन्दा ठूलो धर्म अर्को कुनै नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले मन्दिरमा गएर गरिने ठूलो धनराशीको दान मानव सेवा आश्रममा आएर गर्न पनि सबै समक्ष अपील गरे । उनले मानव सेवा आश्रमका लागि सरकारले निरन्तर सहयोग गरिरहने पनि प्रतिवद्धता ब्यक्त गरे । साथै, मानव सेवा आश्रमका संस्थापक र सरोकारवाला ब्यक्तिहरुको उक्त कामप्रति पनि उनले सरकारको तर्फबाट विशेष धन्यवाद ब्यक्त गरे ।

‘तपाईँहरुलाई सहयोग गर्ने कुरामा यहाँबाट गएपछि पनि मेरो लगातार कोशिस हुन्छ । किनकी मानवताको निम्ति, पीडितहरुको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन । हाम्रो प्रचलन छ, मन्दिरमा जाने, ठूलो धनराशी भेटी चढाउने । तर, अब हामी सबैले मानव सेवा आश्रमका मन्दिरहरुमा आएर भेटी चढाउने, यहाँ चन्दा दियो भने त्यो भन्दा ठूलो धर्म अरु केही हुनेछैन,’– प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्