Logo

प्रमाण पेश गर्न अमरेशलाई माओवादी नेता ढकालको चुनौति, आरोप पुष्टि भए प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा दिने



काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका राजनीतिक सल्लाहकार डीपी ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको सचिवालयमाथि लागेको आरोप पुष्टि हुने प्रमाण पेश गर्न संघीय सांसद् अमरेश कुमार सिंहलाई चुनौति दिएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अमरेशले आफ्नो स्वार्थ पूरा नभएपछि प्रचण्ड र उनको परिवारमाथि केवल आरोपमात्रै लगाएको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले पूर्ण रुपमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै उक्त आरोप कसैगरी पनि पुष्टि हुन नसक्ने बताए ।

एनसेल प्रकरणको बहस सुरु भएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सरकारले उक्त विषयमा छानविनका लागि समितिनै बनाएर काम गरिरहेको बताउँदै उनले सो विषयमा प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयको इन्ट्रेस्ट नजोडिएको दाबी गरे ।

‘उहाँ (अमरेश कुमार सिंह) ले म प्रमाण दिन्छु, अडिओ दिन्छु भनेर जे–जे हर्कत गर्नुभो । त्यो त दिन सक्नु भएन । प्रमाण पेश गर्छु प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ कि दिनुहुन्न भन्नु भएको रहेछ । प्रमाण पेश गरेपछि नैतिक हिसाबले पनि दिनुपर्यो नि । यदि आफू अवाञ्छित क्रियाकलापमा सहभागी भएको हो भने त दिइहाल्नुहुन्छ नि प्रधानमन्त्रीबाट राजीनामा । त्यो दिनैपर्छ । तर, कसैले आफ्नो ब्यक्तिगत स्वार्थका कारणले अप्रमाणित आरोप लगाएको भरमा राजीनामा दिनुहुन्न । कसैले पनि दिँदैन,’– उनले भने ।

कसैले अर्कामाथि आरोप लगाउँदै गर्दा प्रमाणित हुने गरी विषय उठाउन आवश्यक रहेको उनले बताए । आफूलाई मन लाग्दा प्रशंसा गर्ने र मन नलाग्दा गाली गर्ने प्रवृत्ति राजनीतिमा राम्रो नहुने उनले बताए । एनसेल प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले आफ्नो स्टेटमेन्ट दिइसकेको उनले बताए । अमरेश आफैं सेन्टिमेन्टल ब्ल्याकमेलिङमा छन् कि भन्ने आफूहरुको आशंका रहेको उनले बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले तुलनात्मक हिसाबमा सुशासनका कामहरुलाई अगाडि बढाएको बताए । सरकारको कामको परिणाम पनि देखिइरहेको उनले बताए । सरकारले आफ्नो काम गरेपनि अदालतको फैसलाबारेमा आफूहरु बोल्न नचाहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्