Logo

अदालतमाथि मेटमणिको गम्भीर आरोप, सबै फैसला सेटिङको आधारमा हुने गरेको दाबी (भिडिओसहित)



काठमाडौं, १ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले अदालतका सबै फैसला सेटिङको आधारमा हुने गरेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जतिसु्कै अन्याय भएपछि सेटिङको आधारमा फैसला भइरहेको बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सात महिना जेल बसेर धरौटीमा रिहा भएका बालकृष्ण खाण र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएको एमाले सांसद लक्ष्मी महतो कोइरीतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘नेपाली समाजको सबैभन्दा धेरै भ्रष्ट आचरण भएका मान्छेहरुको उपस्थिति भनेको अदालत हो । पैसा पाएपछि क्लिन चिट दिन्छ, पैसा पायो पक्षमा फैसला गर्छ । पैसा पाएन अन्याय गर्छ,’– उनले भने, ‘आज पनि तपाईँले जुनसुकै केस हेर्नुस्, जुन ठाउँमा सेटिङ छ, त्यो सेटिङको पक्षमा फैसला हुन्छ । यदि सेटिङ छैन भने त्यसको विपक्षमा फैसला हुन्छ । जस्तोसुकै अन्याय किन नहोस् । पैसाको आधारमा फैसला हुन्छ ।’

राजनीतिक दलहरुले पार्टीका मान्छेहरुलाई न्यायाधीश बनाउने परिपाटीनै गलत रहेको उनले बताए । यस्तो परम्परालाई अब रोक्न आवश्यक रहेको उनको भनाई छ ।

‘हामी राजनीतिक दलका मान्छेहरुले आफ्नो–आफ्नो पार्टीका मान्छेलाई न्यायमूर्ति बनाउँछौं । जुन भयांकर मिस्टेक भएको छ । यो चिजलाई हामीले क्लोज गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्