काठमाडौं, १ पुष । नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले देशको भविष्य नै युवा भएको भन्दै राज्य र राजनीतिक दलले युवालाई विशेष ध्यानमा राख्नुपर्ने सुझाव दिएकी छिन् । सामाजिक सञ्जालमार्फत मानन्धरले अहिले नेपाली युवाहरुको उद्देश्य र भविष्य सिढींबिनाको भर्याङजस्तो हुँदै गैरहेको भन्दै राज्यले त्यसप्रति ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेकी हुन् ।
उनले लेखेकी छिन्–
आजको कर्म भोलिको लागि देन हो ।
आजको राजनीति भोलिको लागि समृद्ध भविष्य हो ।
युवाहरुले भविष्यका विभिन्न सपनाहरू देख्ने गर्छन्, उद्देश्य रोज्ने गर्छन् । तर नेपाली युवाहरूको उद्देश्य र भविष्य सिढी विनाको भर्याङ जस्तो हुँदै गइरहेको छ ।
त्यसैले, हाम्रा युवाले उद्देश्य र सपनाहरूको खोजी अर्को कुनै भुमिमा टेकेर गर्नु परिरहेको छ ।
बिदेशीने विभिन्न कारक तत्व ( Factor ) मध्ये शिक्षा एक मुख्यकारण हुन पुगेको छ । जबकि शिक्षा हरेक मुलुक विकासको आधारभूत जग हो ।
समयमै कोर्स नसकिनु, सबै ठाउँमा आफुले पढ्न चाहेको विषय उपलब्ध नहुनु र मुख्य शहरमा मात्रै शिक्षाका केन्द्रहरु केन्द्रित रहनु आदि शिक्षा क्षेत्रका कमजोरी बनेका छन् ।
देशको भविष्य युवाहरूको स्वास्थ्य, शिक्षा तथा रोजगारीमा निर्भर रहन्छ। राजनीतिक शक्तिको खिचातानीमा अलमलिएर हरेक दलहरुले यसलाई बेवास्ता गर्नु हुँदैन ।
राज्य र राजनीतिक दलले भविष्यलाई निर्माण गर्ने प्रमुख उर्जा ( युवा )लाई ध्यानमा राख्नु अत्यन्त आवश्यक छ । यो परिस्थितिलाई बेवास्ता गरेमा, मुलुकको सामूहिक प्रगति खतरामा पर्नेछ । file photo