Logo

कोशीमा पेचिलो बन्दै पहिचानको मुद्दा, दिक्तेलबाट आठ जना पहिचानवादी पक्राउ



काठमाडौं, १ पुस । खोटाङको दिक्तेलबाट आठ जना पहिचानवादी पक्राउ परेका छन् । यातायाता बन्द गराउँदै हिँडेका उनीहरुलाई आज (आईतबार) दिक्तेलको किरात चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेशको नामांकन पहिचानको आधारमा हुनुपर्ने माग राख्दै कोशी प्रदेशमा पहिचानवादीहरु आन्दोलनरत छन् ।

उनीहरु संघर्ष समितिनै बनाएर आन्दोलनमा छन् । पहिचानवादीहरुले हिजोदेखि कोशी प्रदेश बन्दको उद्घोष गरेका थिए । पक्राउ पर्नेहरुमा संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई रहेका छन् ।

उनीहरुले नेकपा (एमाले) पहिचान विरोधी शक्ति रहेको बताउँदै आएका छन् । पहिचानवादीहरुले झुलाघाट, चिवाझञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेको एमालेलाई अवरोधको प्रयास समेत गरेका थिए । साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयाससमेत भएको थियो । त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पनि पहिचानवादीहरुले आक्रमण गरेका थिए । कोशीमा पहिचानको मुद्दा दिनदिनै पेचिलो बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्