गलकोट (बागलुङ), २ पुस । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दैछ । सङ्घको आयोजनामा यही पुस ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव–२०८०’ हुन लागेको हो ।
यसअघि विसं २०७६ मा महोत्सव आयोजना गरिएको थियो । विगतका वर्षमा गरिएका महोत्सवले यहाँको बजार तथा व्यापार फस्टाउँदै आएको थियो । महोत्सवले व्यवसायलाई थप चलायमान बनाउने भएकाले तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै उनले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै कक्ष राखिने जानकारी दिए ।
जिल्लामा उत्पादित स्थानीय सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोबाट बनेका पाउडरको प्रवद्र्धन गरिने अध्यक्ष कँडेलले बताए । महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पु¥याउने उनको भनाइ छ । उनका अनुसार महोत्सवमा एक सय २० भन्दाबढी कक्ष रहने छन् ।
मेलमा एक करोड ७० लाख आम्दानी गर्ने र एक करोड ४५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा सात लाख दर्शक भित्रिने र १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको कँडेलले जानकारी दिए ।
महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवाउद्यमी सम्मेलन गरिने सङ्घका महासचिव ऋषिराम गौतमले बताए ।
महोत्सवबाट बचत भएको रकमले सङ्घको सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत सदस्य कल्याणकारी कोषमा रू पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग गरिने, बजार क्षेत्रमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा सहयोग पु¥याइने जनाइएको छ । रासस