काठमाडौं, ३ पुष । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले डा. अमरेशकुमार सिंहजस्तो सांसद भएको र विद्यावारिधी गरेको व्यक्तिले बिनाआधार बोल्न नहुने बताएका छन् । पत्रकार ऋषि धमलाले अमरेश कुमार सिंहले एनसेल शेयर खरिद बिक्री प्रकरणमा लगाएको आरोप कति सत्य होला ? भनेर सोधेको प्रश्नमा नेता गौतमले भने–‘उहाँले प्रमाण केही पनि पेश गर्नुभएको छैन्, त्यसो भएको हुनाले सत्यता छ भनेर भन्न सकिन्न । प्रमाण पेश गर्नुपर्यो नि ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । एनसेल खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले उद्योपतिसँग पैसा लिएको भनेर अमरेशले आरोप लगाउनुभएको छ नि ? भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले भने–‘लिनुभएको छ भने त मुद्दा हाल्नुपर्यो नि त । सप्रमाण जानुपर्यो । कानूनी कारबाहीमा जानुपर्यो । त्यत्तिको जानेको, बुझेको, संसदको सदस्य भएको व्यक्ति अनि पिएचडी समेत गरिसकेको व्यक्तिले बिनाआधार बोल्दै हिँड्ने हो र ? बिनाआधार बोल्ने होईन । भ्रष्टाचार भएको छ भने पनि प्रमाण चाहियो । प्रमाण नभईकन बोल्नुभएन । हल्ला गरेर जनतालाई उल्लु बनाउने काम गर्नुभएन । अमरेशकुमार सिंहसँग कुनै प्रमाण छैन् ।’ file photo