Logo

राप्रपाको १३ निर्णयः राजसंस्थाका लागि आन्दोलन गर्नेदेखि भ्रष्टाचार छानविनसम्म



काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ । बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । बैठकले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदवाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ ।

आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा र तयारीका कामहरु गरिने भएको छ । त्यसैगरी, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने राप्रपाको तयारी रहेको छ । राप्रपाले आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेकाराष्ट्रवादी नेपालीलाई सरिक हुन आव्हान गरेको छ ।

राप्रपाले पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने बताइएको छ ।

नविन राप्रपा कार्ययोजना हालसम्मको प्रगति उत्साहजनक रहेको राप्रपाको निश्कर्ष रहेको छ । उक्त कार्यक्रमलाई निरन्तरता दिने गरी चैत्र मसान्तसम्म म्याद थप गर्ने समेत निर्णय भएको छ ।

राप्रपाले केन्द्रीय समिति बैठकमार्फत जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल अस्थायी आवास निर्माण गर्ने काममा नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मेवारी दिनसमेत नेपाल सरकारलाई आग्रह गरेको छ ।

राप्रपाले वित्तीय संस्थाको चर्को व्याज दरका कारण उद्योगी, व्यावसायी र खास गरी साना उद्यमी व्यावसायी तथा किसानहरुको धितो लिलाम हुने परिस्थिति सिर्जना भएको भन्दै राप्रपाले भुक्तानी तालिका कम्तिमा एक वर्ष म्याद थप गर्न र ब्याज दरलाई एकल बिन्दुमा ल्याउन सरकार तथा नेपाल राष्ट्र बैंकगँग माग गरेको छ ।

साथै, राप्रपाले उखु किसानले प्राप्त गर्नुपर्ने रकम कुनै बिलम्व नगरी तत्काल उपलब्ध गराउन र दुग्ध किसानले पाउनुपर्ने रकम शीघ्र र सहज रुपमा उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी राप्रपाले प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनी अधिकारको सुनिश्चितता सहितको कानुन आगामी संसदको अधिवेशनबाट पारित गर्ने गरि अविलम्ब संसदमा पुर्याउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, एनसेलको शेयर बिक्रीमा भएको भ्रष्टाचारको राप्रपाले विरोध गरेको छ । राप्रपाले यसमा उच्चस्तरीय छानवीन गर्न माग गरेको छ । एनसेल काण्ड राप्रपाले पार्टीभित्र अनुसन्धान गर्ने भएको छ । राप्रपाले यसका लागि प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीलाई संयोजक तोकेको छ ।

साथै, मेलम्ची खानेपानीबाट काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति हुन नसकेको भन्दै राप्रपाले तत्काल खानेपानी आपूर्तिको व्यवस्था गर्न र मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानविन गर्न समेत माग गरेको छ ।

त्यसैगरी स्वास्थ्य बीमा गरेका बिमित बिरामीले पाउने उपचार र सुविधा जुनसुकै अस्पतालबाट पाउने व्यवस्था गर्न, औषधिको सुविधा सहजै पाउने वातावरण सुनिश्चित गर्न र सेवा प्रदायक अस्पतालले पाउने भुक्तानी तत्काल उपलब्ध गराउन राप्रपाले सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, रुस युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न र हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शीघ्र रिहाईको प्रभावकारी कुटनीतिक पहल गर्न समेत राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्