Logo

सामाजिक सद्भाव र सहिष्णुता खलबलाएको भन्दै रविले मागे किरातीको राजीनामा



काठमाडौं, पुस ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार रहेकाले पदीय गरिमा जोगाउन मन्त्रीमण्डलबाट बाहिरिनु पर्ने बताएका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।’ उनले फेसबुकमा लेखेका छन्, ‘यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित यस्तो माग गरेका हुन् ।

मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ । सोही कारण मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा उनले जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्