काठमाडौं, ५ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वको गरेको यही पुष १० गते एक वर्ष पुग्दैछ । सरकारको एक वर्षबारे अहिलेदेखि नै टिकाटिप्पणी सुरू भैसकेको छ । प्रधानमन्त्री दाहालले पनि पार्टीको पदाधिकारी बैठकमा सरकारको एक वर्षबारे समिक्षा गरेका थिए ।
सो क्रममा उनले आफूले सुशासनको पक्षमा ठूलो कदम चालेको भन्दै अब यो नरोकिने ब्रिफिङ गरेका थिए । राजनीतिक विश्लेषकदेखि प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने सरकारको एक वर्ष त्यसै खेर गएको आरोप लगाएका छन् । कांग्रेसकै शेखर कोइराला समूहका नेताहरुले पनि सरकारको एक वर्ष गफमा सिमित भएको आरोप लगाउने गरेका छन् ।
तर, प्रधानमन्त्री दाहालले भने आफूले भ्रष्टाचारविरुद्ध कडा कदम चालेको भन्दै अहिले विरोधीहरु डराएको र सरकारको बारेमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गर्दै आएका छन् । पार्टीको पदाधिकारी बैठकमा उनले आफूले मन्त्रीहरुको कार्यसम्पादनबारे पनि सुक्ष्म ढंगले अध्ययन गरिरहेको भन्दै अब कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरुलाई तत्काल हटाउनेगरि सोच बनाएको कुरा सुनाएका थिए ।
उनले भ्रष्टाचारविरुद्ध नयाँ फाइल खोल्ने तयारी गरेको समेत जानकारी गराएका थिए । आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने हल्लासमेत चलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएपछिमात्रै आफू मन्त्रिपरिषद् पूनर्गठनबारे निश्कर्षमा पुग्ने उनको योजना छ ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् हेरफेरको लागि ग्रिनसिग्नल दिएको बालुवाटार स्रोतको दाबी छ । कतिपय नेताहरुले भने अहिलेका मन्त्रीहरुको सेट नै परिवर्तन गर्नुपर्नेगरि लविङ थालेका छन् । file photo