काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ ।
प्रदेश सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुगेका छन् । जनकपुरधामस्थित तिरहुतिया गाछीमा कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरू हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
सम्मेलनमा सहभागी हुन देउवा जनकपुर पुगेपछि नेता डा शेखर कोइराला समूह अलमलमा परेका छन् । बुधबार कांग्रेस मधेश प्रदेशका ८ जना नेताले सभापति देउवालाई सामूहिक पत्र लेख्दै शेखरलाई देउवापछिको वरीयता दिलाउन माग गरेका थिए ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति देउवाविरुद्ध उम्मेदवारी दिएर पराजित भएका कोइराला हाल पार्टीको केन्द्रीय कार्यसमितिमा २५औं वरीयतामा रहेका छन् । तर, पछिल्लो समय उनी निकट नेताहरुले आयोजना गरेको कार्यक्रममा देउवापछिको वरीयतामा दिलाउँदै आएका छन् ।