Logo

नियमित महशुल तिर्दा पनि प्राधिकरणले लाईन काटेको उद्योगी व्यवसायीहरुको आरोप



काठमाडौं, ९ पुस । उद्योगी व्यवसायीहरुले आफूहरुले नियमित महशुल तिर्दा पनि नेपाल विद्युत प्राधिकरणले लाईन काटेको दाबी गरेका छन् । उनीहरुले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुनः लाईन जोडेर समस्या समाधान गर्न सरकारको ध्यानाकार्षण गराएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगी ब्यवसायीहरुले नियमित विजुलीको बिल तिर्दै आएको दाबी गरे । उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङले समस्या आएको बताए । विवादित प्रिमियम विषयको बिलमात्रै उद्योगी ब्यवसायीले नतिरेका उनको दाबी छ ।

उद्योगी ब्यवसायीसँग छलफलनै नगरी लाईन काटिँदा लगानीको वातावरणमा अन्तराष्ट्रिय बजारमा समेत नकारात्मक सन्देश गएको उनले बताए । आफूहरुले लाईन जोडिएको साढे तीन वर्षपछि मात्रै विजुली प्रयोग गरेको र उक्त अवधिको पनि महशुल तिर्नुपर्छ भनेर प्राधिकरणले फर्जी चिठी काटेको उद्योगी÷व्यवसायीहरुको आरोप छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापा, चिनी उत्पादक संघका अध्यक्ष जगदीश अग्रवाल, उद्योगी व्यसायी विष्णु न्यौपानेलगायतले प्राधिकरण आफ्नो निर्णयबाट ब्याक हुनुपर्ने आवश्यकता औंल्याए । उद्योगहरुको लाईन काटिँदा अन्तराष्ट्रिय लगानीमा समेत नकारात्म असर पर्ने उनीहरुको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्राधिकरणले छ वटा उद्योगको लाईन काटिसकेको छ । डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाईन काटिएको छ । यी छ कम्पनीसँग साढे नौ अर्ब रुपैयाँभन्दा बढि बक्यौता रहेको प्राधिकरणको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्